सुदूरपश्चिमको लगातार दोस्रो जीत, काठमान्डू ७३ रनले पराजित

  Sampatti News

December 5, 2024

काठमाण्डू, नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमान्डू गुर्खाज १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो ।

सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डूको दोस्रो हार हो ।

काठमान्डूका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए । सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि नरेन साउदले ४ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए ।

यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे ।

ओपनर विनोद भण्डारीले ३५ र सैफ जैबले ११ रन बनाए । रोहन मुस्तफा भने ४ रनमा आउट भए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

काठमान्डूका लागि राशिद खानले २ तथा कप्तान करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।

प्रकाशित मिति:December 5, 2024