December 7, 2024
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से घटेसँगै २७०० विन्दुभन्दा तल बन्द भएको छ। नेप्से परिसूचक पछिल्ले ८ कारोबार दिनपछि २७०० विन्दुमुनि बन्द भएको हो। यस अघि गत मंसिर १० गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो। सो दिन नेप्से २६८३.२४ विन्दुमा बन्द भएको थियो।
कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो ।
बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटे ।
खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । दोल्ती पावरको ८.७७, स्वाभिमान लघुवित्तको ७.८९, मोलुङ हाइड्रोपावरको ६.५ प्रतिशत मूल्य बढ्यो ।
मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । दिव्यश्वरी हाइड्रोको ७, सुपरमादी हाइड्रोपावरको ६.८८ तथा सान्जेन जलविद्युत्को ६.६८ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६४ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्स र रिभर फल्स पावरको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने खानीखोला हाइड्रोपावरको करिब १४ करोडको शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति:December 7, 2024