पाथीभराको केबलकार विवाद : सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

  Sampatti News Online

February 5, 2025

काठमाडौँ ।ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । अस्ति र हिजो दुई दिन चलेको वार्तापछि सहमति भएको हो ।

गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।

सम्झौताअनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ। सरकारले घाइतेहरूको उचित उपचार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

यस्तै, माघ १२ गते भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरिनेछ। घटनाका वास्तविकता पत्ता लगाई आवश्यक कारबाही अघि बढाइने सहमति भएको छ।

आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिना शर्त तत्काल रिहा गरिनेछ। पक्राउ परेका व्यक्तिहरूलाई कानुनी प्रक्रिया सरल बनाउँदै उनीहरूको रिहाइ सहज गरिनेछ। मुक्कुम्लुङ संरक्षक पक्षबाट जारी अनिश्चितकालीन यातायात बन्द हटाइनेछ। यातायात सञ्चालन सुचारु गर्न आन्दोलनरत पक्ष सहमत भएको छ।

सहमति अनुरूप, पाथीभरा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित हुने भएको छ भने आयोजनासम्बन्धी बाँकी विषयमा थप छलफल गर्न माघ २७ गते बिहान ११ बजे पुनः वार्ता गरिनेछ। यस छलफलमा परियोजनाका अन्य प्राविधिक, कानुनी, सामाजिक र सांस्कृतिक पक्षहरूसम्बन्धी विषयमा विस्तृत चर्चा गरिने बताइएको छ।

वार्ता गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र संघर्षरत पक्षका प्रतिनिधिहरूबिच सम्पन्न भएको हो। सहमतिपछि आन्दोलनरत पक्षले यातायात बन्द फिर्ता लिने निर्णय गरेको छ।

प्रकाशित मिति:February 5, 2025