अध्यादेश रोकिने वाला छैन, पास गर्ने अनेक विकल्प छन् : पोखरेल

  Sampatti News Online

February 14, 2025

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश पारित हुने दाबी गरेका छन् । शुक्रवार एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विरोध भयो भन्दैमा कुनै अन्योलमा नपर्न आग्रह गरेका हुन् ।

उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसावले ल्याएको बताए । उनले अध्यादेशको बिरोध भयो भनेर कोशिस असफल नहुने बताए ।

उनले दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरु रहेको छ। विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने बताए । अध्यादेश आफैँमा कानून भएको बताए । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक छन् ।

महासचिव पोखरेलले भने, ‘अहिले सरकारले जुन हिसावले अध्यादेशका माध्यमबाट यो क्षेत्रलाई सम्बोधन गर्ने कोशिस गरेको छ । अब अध्यादेशको बिरोध भयो भन्ने बित्तिकै त्यो कोशिस असफल हुन्छ भन्ने नठान्नुहोला । किनकी त्यो कोशिस प्रमुख पार्टीहरुले सचेततापूर्वक ल्याएको काम हो । त्यसअर्थमा हामी त्यसलाई जसरी पनि टुंग्याउँछौँ । कसैले बिरोध गर्यो भनेर त्यो बिरोधले रोकिनेवाला छैन । अनेक विकल्पहरु छन् ।

विकल्प प्रयोग गरेर भएपनि हामी त्यसलाई राज्यको कानूनमा ढालिहाल्छौँ । यद्यपि अध्यादेश आफैँमा कानून हो । प्रयोगमा आइसकेको छ । अब नियमावली बनेको छैन भन्नेखालको कुरा पनि हामीले त नियमावली आवश्यक पर्ने चिज बनाइहालौँ भनेको छौँ । सायद बनाइसकेको होला जस्तो लाग्छ । आवश्यक नपर्नेका लागि कानून नै कार्यान्वयन हुन्छ । नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली हो ।

कानूनले नै स्पष्ट तोकेको चिजमा नियमावली आवश्यक पर्दैन । त्यो स्वतः कार्यान्वयनमा जान्छ । तर कतै त्यो नियमावली आवश्यक पर्ने चिज रहेछ भने त्यो पनि हामीले छिटो गर्न सकिन्छ ।’

महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताए ।

प्रकाशित मिति:February 14, 2025