February 18, 2025
काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा आइतबार राती बी टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेलापरेपछि उक्त क्याम्पसका उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड लिलम्बनमा परेका छन् ।
केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी गराएको छ ।
मृतक लम्साल इन्जिनियरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको थियाे।
‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् । दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ ।’
त्यस्तै, कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम् प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक प्रतिबद्ध नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा छ,’ विज्ञप्तिमा भनिएको छ ।
सोही कलेजमा अध्ययनरत विद्यार्थीले मानसिक यातनाका कारणले लम्सालको मृत्यु भएको भन्दै विद्यार्थीहरू आन्दोलनरत छन् ।
प्रकाशित मिति:February 18, 2025