June 5, 2025
काठमाडौं। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन्।
जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको बैंकका कम्पनी सचिव भीष्म न्यौपानेले जानकारी दिएका हुन्। यसअघि कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन्।
उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका छन्।
सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ।
ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ।
त्यस्तै सोही समितिले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ। त्यस्तै प्रमुख कानुन विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ।
प्रकाशित मिति:June 5, 2025