June 9, 2025
रौतहट । नेपाल सुनचादी व्यवसायी महासंघ नेपाल हस्तकला महासंघ सुनचाँदी रत्न आभुषण महासंघ तथा तिन वटै महासंघमा आबद्ध जिल्ला नगर संघले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
केन्द्रीय महासंघको निर्देशन अनुसार चन्दपुर सुनचादी व्यवसायी संघले ‘सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक करमा गम्भिर आपत्ति ’ का सन्दर्भमा प्रशासन कार्यालय मार्फत माननीय उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएका हुन ।
संघले हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडिट गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल पुनर्विचार गरी खारेज गरियोस । सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरियोस । कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरियोस र त्यसबिना करको दायरा नबढाइयोस । निर्यात ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेजी लगायतका विषयहरू ज्ञापन पत्रमा समेटिएको जनाइएको छ ।
संघका तर्फबाट अध्यक्ष भिम बहादुर विश्वकर्मा नेतृत्वको टोलीले जेष्ठ २५ गते जिल्ला प्रशासन कार्यालय, रौतहट ईलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुरमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।
प्रकाशित मिति:June 9, 2025