सुन्दरी समिक्षाको पवित्र माया आलिसाले खोसिन्, ह्याण्डसम आकाशले आलिसाको पनि माया पाउन सकेनन् (भिडियो सहित)

  Sampatti News

December 19, 2020

काठमाडौं । ‘मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीतका शब्द शृजना बरिष्ठ गीतकार हिराकाजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको छ । जसमा चाँद सिंगको एरेन्ज रहेको छ । काठमाडौँ उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा ३ दिन लगाएर छायांकन गरिएको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय देख्न सकिन्छ ।

मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई जस्ताको त्यस्तै भिडियोमा देखाइएको दृश्यले सबैको मन छुने निर्देशक हिराकाजी थापाको दाबी छ । सुन्दरी मोडल समिक्षा र आलिसाको पनि सशक्त अभिनय रहेको भिडियो रिलिज गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक थापाले बताए ।

पछिल्लो समय समाजमा बढ्दो डिभोर्स परम्परा र प्रेममा धोका पाएकाहरुको कथामा नायक आकाश श्रेष्ठले जिवन्त अभिनय गरेका छन् । जुन भूमिकालाई उनले आफुले अभिनय गरेका भिडियोहरुमध्येकै भिन्न र महत्वपूर्ण भएको बताएका छन् । सहनिर्देशक तथा कोरियोग्राफर गौरव गिरी रहेको गीतको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।

प्रकाशित मिति:December 19, 2020