नासु बराल र लेखापढी महत्तो विरुद्द ११ हजार घुस लिएको आरोपमा अदालतमा मुद्दा दर्ता

  Sampatti News

February 2, 2021

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नायव सुब्बा (नासु) वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महत्तो विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नासु बराल र हरिवनका लेखापढी व्यवसायी महत्तोलाई जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोगमा मुद्दा दर्ता गराएको हो । आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपीद्वयलाई बिगो बराबरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, आयोगले आजै विद्युत् मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ८ हजार घुस मागेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण वरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति:February 2, 2021