कञ्चनपुरमा फेरि अनिश्चितकालीन निषेधाज्ञा जारी

  Sampatti News

March 24, 2021

कञ्चनपुर । कञ्चनपुर जिल्लामा फेरि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। भारतका बिभिन्न शहरहरुमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा जोखिम बढ्द नदिन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।

मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आदेश जारी गरेका छन्। जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार प्रशासनले जिल्लामा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ।

यस्तै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ।

यस बाहेकका सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको छ। तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिक र पूर्व स्वीकृति प्राप्त भारतीय नागरिकको अभिलेख राख्ने र नाकामा रहेका हेल्थ डेस्कबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्नेछ।
सबै व्यक्तिहरुले सेनिटाइजर, मास्क र सामाजिक दूरी लगायतको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने प्रशासनले जनाएको छ।
यस्तै, कार्यालय, संघ संस्था, शैक्षिक संस्थाहरुले सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने, बैठक गोष्ठी वा सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने, अत्यावश्यक बैठक गोष्ठी वा सेमिनार गर्नु परे जनस्वास्थ्यको मापदण्डकोे पूर्ण परिपालन गर्नु पर्नेछ।
प्रशासनको आदेश अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने समेत सुचनामा उल्लेख छ ।

प्रकाशित मिति:March 24, 2021