सिन्धुली जीप दुर्घटना : सहसचिव सहित तीनको अवस्था अझै अज्ञात, परिवारजनमा शोक

  Sampatti News Online

June 3, 2023

काठमाडौँ । सिन्धुली जीप दुर्घटनामा परी बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)का तीन जना कर्मचारीको अवस्था हालसम्म अज्ञात हुँदा परिवारजनमा शोक छाएको छ । वेपत्ताको यथाशीघ्र खोजीका लागि परिवारका सदस्यले सरकारसँग याचना गरेका छन् । जीवित वा मृत जस्तोसुकै अवस्थामा भएपनि वेपत्ताको स्थिति पत्ता लगाइदिन उनीहरुले हारगुहार गरिरहेका छन् । कार्यालयका कर्मचारी समेत आफ्ना मिलनसार सहकर्मी वेपत्ता भएको खबरले स्तब्ध छन् । बाल्यकालदेखि नै प्रतिभाशाली व्यक्तिका रुपमा परिचित व्यक्ति दुर्घटनामा परी वेपत्ता भएको खबरले उनीहरुको गाउँभरी नै शोक छाएको छ ।
सिटिइभिटीका सदस्य सचिव जीव नारायण काफ्लेको नेतृत्वमा घटनास्थलमा खटिएको कर्मचारीको टोली दिनरात खोजी कार्यमा संलग्न छ । बेपत्ताको खोजी दिनभरी जारी रहँदासमेत हालसम्म अवस्था पत्ता लाग्न नसकेको घटनास्थलबाट सिटिभिइटीका सदस्यसचिव काफ्लले सम्पत्ति न्युजलाई जानकारी दिए ।
काफ्लेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संलग्नतामा तीव्ररुपमा खोजी कार्य जारी रहेको छ । सुरक्षा निकायका गोताखोर तथा प्रकोप व्यवस्थापन टोलीलाई सिटिइभिटीका कर्मचारीले खोजी कार्यमा साथ दिइरहेका छन् ।
खोटांगको माहुरेगढी बहुप्राविधिक शिक्षालयको अनुगमन गर्न जाने क्रममा जीप खोलामा खसेको थियो । बेपत्ता हुनेमा सीटीईभिटीका सहसचिवस्तरका कर्मचारी निर्देशकद्वय कृष्णबहादुर केसी र यामप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल रहेका छन् । तनहुँ भानु नगरपालिका– ९ का केसी सिटिइभिटीको सानोठिमीस्थित प्रशासन शाखाका निर्देशक थिए । पूर्वीनवलपरासी प्रगतिनगर नगरपालिका– ७ का भुर्तेलले कार्यालयको योजना तथा नीति निर्माण निर्देशनालयको जिम्मेवारी सम्हाल्दै आएका थिए भने इलाम घर भई हाल विद्युत् प्रशिक्षकको पदमा कार्यरत इमान्दारी र मेहनती कर्मचारी थिए । सिन्धुलीको गोलन्जोर–७, लौकुना नवघाटस्थित सुनकोशी नदीमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको जीप सुनकोशीमा खसेको थियो । जीपमा ४ जना सवार भएपनि दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय चालक कृष्ण चौधरी भने पौडेर बाहिर निस्केका थिए ।

प्रकाशित मिति:June 3, 2023