नेपाल पत्रकार महासंघको मतादान कार्याक्रम आज

  Sampatti News

April 7, 2021

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भइरहेको छ । महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।
मतदान सम्पन्न भएपछि बुधबार नै मतगणना शुरु गरिनेछ । कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिनुभयो । निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी हुन् । महासङ्घले आफ्नो सङ्गठनलाई संघीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैर भौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद् छन् ।
महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति छन् । महासंघको केन्द्रीय समिति ४९ सदस्यीय छ भने प्रदेश समिति २१ सदस्यीय रहने प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य संख्याअनुसार रहने व्यवस्था छ । नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूल ध्येय, लक्ष्य र दायित्व हो ।

प्रकाशित मिति:April 7, 2021