महावाणिज्यदूत भएकै बखत सचिवमा बढुवा भएका अर्यालको कलकत्तामा सानदार बिदाइ

  Sampatti News

March 14, 2020

काठमाडौं । नेपाल सरकारले सचिवमा भर्खरै बढुवा गरेका कलकत्ताका लागि निवर्तमान नेपाली महावाणिज्यदूत एकनारायण अर्याललाई कलकत्ताबाट बिदाइ गरिएको छ । अर्यालले कलकत्तामा कार्यरत हुँदा उत्कृष्ट कूटनीतिज्ञको रुपमा काम गरेको भन्दै एक कूटनीतिक समारोहका बिच बिदाइ गरिएको हो ।

सरकारले अर्याललाई सचिवमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गर्ने निर्णय गरेपछि उहाँ महावाणिज्य दूतावासबाट बिदा हुनुभएको हो ।

अर्यालले आफ्नो कार्यकालमा नेपाल भारत पारवहन तथा व्यापार प्रवर्द्धनमा द्रूत, पारदर्शी र कम खर्चिलो हुने गरी नयाँ पद्धति बसाउनुभएको थियो । उहाँका यस्ता कामबाट प्रभावित भएका त्यहाँका उद्योगी तथा व्यवसायीले प्रशंसा गरेका छन् ।

महावाणिज्यदूत नियुक्त हुनुअघि उहाँले काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा भुकम्पको बेला काठमाडौं मात्रै नभई देशैभरिका भुकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समन्वय गरी नागरिक हितमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

भुकम्पका बेला प्रहरी प्रशासनसँगको समन्वय, खाद्यान्न लगायतका उपभोग्य वस्तुहरुको उपलब्धता, कर्मचारी परिचालन, नागरिकको स्वास्थ्य तथा उपचारको समन्वयलगायतमा उहाँको विशेष भुमिका रहेको थियो ।

त्यसैगरी मकवानपुरमा प्रजिअ हुँदा उहाँकै हातबाट चेपाङ वस्तीमा पहिलोपटक नागरिकता वितरण गरिएको थियो । यस्ता कयौं कुशल कामका कारण नेपालको निजामती कर्मचारीको क्षेत्रमा अर्याल उत्कृष्ट राष्ट्रसेवकको रुपमा चिनिनुहुन्छ ।

सेवाका क्रममा राष्ट्र र नागरिकप्रति बफादार भएकै कारण अर्याललाई सरकारले सचिव पदमा बढुवा गरी काठमाडौं महानगरपालिकामा पदस्थापना गरेको छ । गृह प्रशासनको समेत गहिरो अनुभव भएका अर्याललाई काठमाडौ‌ महानगरपालिकामा पदस्थापनाले महानगरपालिका सुध्रिने अपेक्षा धेरैले गरेको भएपनि उहाँका लागि अनुभवको हिसाबले उपयुक्त जिम्मेवारी भएन की भन्ने कर्मचारीतन्त्रका केही विज्ञहरुको विश्लेषण छ ।

प्रकाशित मिति:March 14, 2020