विद्युतीय सवारीको भन्सार दर अझ घट्छ: मन्त्री भुसाल

  Sampatti News

November 2, 2021

काठमाडौँ-ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विद्युतीय सवारीको भन्सार दर अझ घट्ने बताएकी छिन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

मन्त्री भुसालले पछिल्लो समय मुलुकमा चाहिने भन्दा पनि अझ बढी जलविद्युतको उत्पादन भएको छ ।

र यसको प्रयोग अब वैकल्पिक ऊर्जाको रुपमा ग्यास तथा पेट्रोलियम पदार्थको विस्थापनमा प्रयोग गर्नुपर्ने हुदा विद्युतीय सवारी तथा उपकरणको भन्सार दर घटाइने बताएकी छिन्।

​उनले भनिन् ‘अहिले हामीसँग प्रशस्त मात्रामा जलविद्युतको उत्पादन भएको छ । जुन हामीले प्रयोग गरेर पनि अझ बढी हुने अवस्थामा छ,’ । , ‘अब हामीले यसलाई नवीकरणीय ऊर्जा स्रोतको रुपमा पेट्रोलियम पदार्थको ठाउँ प्रयोग गर्नुपर्छ ।,’

​उनले भनिन् , ‘खाना पकाउने ग्यासको ठाउँमा विद्युतीय चुलो प्रयोग गर्नुपर्छ,पेट्रोलियम गाडीको सट्टा अब विद्युतीय सवारी चलाउनुपर्छ । ,’

मन्त्री भुसालले विद्युतीय उपकरणको प्रयोग बढाउन प्रोत्साहन गर्ने गरि कार्यक्रम आउने समेत जानकारी दिईन।

साथै उनले पेट्रोलियम पदार्थ तथा सोबाट चल्ने गाडीको आयातमा क्रमशः विस्थापन गर्नकै लागि सरकारले विद्युतीय गाडीको भन्सार दर घटाउने र पेट्रोलियम पदार्थबाट चल्ने गाडी तथा उपकरण विस्थापन हुन सक्ने समेत बताइन् ।

यसका लागि सरकार अहिले गृहकार्यमै रहेको उनको भनाइ थियो ।

यसका साथै जलविद्युतको घरायसी प्रयोगमा समेत प्रत्साहन तथा सहुलियता प्रदान गर्ने उद्देश्यले सरकारले नीति तथा कार्यक्रम अघि सारेको उनले बताइन् ।

हाल जलविद्युतको प्रसस्त उत्पादनका कारण स्वदेशी बजारले मात्र खपत गर्ने अवस्थामा नरहेकाले विदेशमा समेत निर्यात गर्ने गरी सरकार अघि बढिसकेको उनले बताइन् ।

यसका लागि भारत,बंगलादेशसहित अन्य देशसँग समेत विद्युत निर्यातका लागि सम्झौताकै चरणमा रहेको मन्त्री भुसालले जानकारी दिइन् ।

प्रकाशित मिति:November 2, 2021