आयात र निर्यात दुबै घट्योः व्यापार घाटा पनि ५ प्रतिशतले कमि

  Sampatti News

March 19, 2020

पछिल्लो समयमा नेपालको अन्तर्राष्टिय (वैदेशीक) व्यापारमा सुधार आएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो ७ महिनामा (असार—फागुन)को वैदेशिक व्यापारको व्यापार स्थिती सुधारात्मक रहेको छ ।


यो अवधिमा कुल वस्तु निर्यातमा २२ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार निर्यात रकम रू ६४ अर्ब ९७ करोड बढी पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा धेरै नै राम्रो मान्न सकिन्छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात १२.५ प्रतिशतले वृद्धि भएको थियो ।

निर्यात गन्तव्यका आधारमा भारततर्फ निर्यात ३८.० प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२.७ प्रतिशत र अन्य मुलुकतर्फ २.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिष्टर तथा अन्य), लगायतका वस्तुको निर्यात बढेको छ । जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


वीरगंज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ ।

कुल वस्तु आयात ३ दशमलव ६ प्रतिशतले घटेर रु.८ खर्ब ३ अर्ब ६० करोड बराबर कायम भएको छ ।

यो पछिल्लो समयमा भारतबाट आयात घटेको छ भने अन्य मुलुबाट भने केही मात्रमा बढेको छ ।

भारतबाट भएको आयातमा ८.० प्रतिशतले कमि आएको छ । त्यस्तै चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.८ प्रतिशत र ०.८ प्रतिशतले बढेको छ ।


कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयातमा वृद्धि भएको छ ।

एम.एस.बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयातमा कमि आएको छ ।


सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

जसअनुसार ७ महिनाको कुल वस्तु व्यापार घाटामा ५.३ प्रतिशतले संकुचन हुन आई व्यापार घाटा रकम रु.७३८ अर्ब ६३ करोड भन्दा बढी पुगेको छ ।

प्रकाशित मिति:March 19, 2020