भोलि देखि नै सुरु निःशूल्क डिजिटल कारोबार

  Sampatti News

March 21, 2020

काठमाडौँ । आइतबार (भोलि) देखि निःशुल्क डिजिटल बैंकिङ कारोबार सञ्चालन हुने भएको छ ।


वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैंकको काउन्टरमा हुने भिड कम गरी कोरोना नियन्त्रणमा सरकारको पहलसँगै हातेमालो गर्नको लागि डिजिटल कारोबारलार्य निःशूल्क बनाउने योजना ल्याएको हो ।


अर्काे सूचना नआएसम्म एक महिनासम्म डिजिटल कारोबार निःशुल्क रहने छ ।


बैंकर्स संघका अध्यक्ष दाहालका अनसार डिजिटल कारोबार, अन्तर बैंक एटिएम कारोबार तथा ई–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदासमेत शूल्क लाग्ने छैन ।


बैंकर्स संघले डिजिटल कारोबार र अन्तर बैंक एटिएम कारोबारलाई निःशूल्क गर्ने निर्णय गरेर त्यसको जानकारी राष्ट्र बैंकलाई गराएको थियो । यसैअनुसार राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीलगायतको टोलीसँग बैंकर्स संघका अध्यक्ष भुवन दाहाललगायतको टोलीले शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म छलफल पश्चात निःशुल्क डिजिटल कारोबार गर्ने निर्णय गरेका थिए ।


छलफल कार्यक्रममा राष्ट्र बैंकका अधिकारीहरुले कर्मचारी र ग्राहकलाई स्यानिटाइजर र मास्कको व्यवस्था गर्न तथा ज्वरो नाप्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।


डेभलपमेन्ट बैंकर्स एशोसिएशनले पनि एक महिनाका लागि डिजिटल कारोबार निःशूल्क गराएको छ ।


नोटबाट पनि कोरोना भाइरस सर्न सक्ने जोखिम रहने भन्दै बैंकरहरुले सकेसम्म नोटको कारोबार कम गर्ने उपाय अबलम्बन गर्दै उच्च सतर्कतामा बैंकिङ सेवा प्रदान गर्ने निर्णय भएको छ । छलफलमा सरकारले सबै क्षेत्र बन्द गरेपछि मात्र बैंकहरु पनि बन्द गर्ने सहमति भएको छ ।

प्रकाशित मिति:March 21, 2020