प्रहरीका २२ अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

  Sampatti News

January 18, 2022

प्रहरीका २२ अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाडौँ-नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विभिन्न पदमा बढुवा भएका २४ प्रहरी अधिकृतमध्ये २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गृह मन्त्रालयको निर्णयअनुसार २४ प्रहरी अधिकृत विभिन्न पदमा बढुवा भएका थिए ।

पदोन्नतिसँगै उहाँहरुको जिम्मेवारी पनि थपिएको भन्दै महानिरीक्षक थापाले इमानदार र क्रियाशील भएर कर्तव्य पालन गर्न उल्लेख गरे ।

उनले कोभिड–१९ को बढ्दो सङ्क्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

समाजमा हुनसक्ने सुरक्षा चुनौतीप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशील हुनुपर्ने उनको भनाइ थियो ।

पदोन्नति भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक पूजा सिंहले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई सङ्गठनको गरिमा र महत्त्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आआफ्नो स्थानबाट निष्ठापूर्वक र इमानदारीसाथ खटिने प्रतिबद्धता व्यक्त गरिन् ।

दर्ज्यानी चिह्नबाट सुशोभित हुनेमा प्रहरी नायब महानिरीक्षक सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर रामकुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायब उपरीक्षक र १४ प्राविधिक प्रहरी निरीक्षक रहेका थिए ।

प्रहरीका २२ अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रकाशित मिति:January 18, 2022