युभेन्टसले र्शीर्षस्थानमा ७ अंकको स्पष्ट अग्रता प्राप्त गर्यो

  Sampatti News

July 6, 2020

टुरिन । युभेन्टसले इटालियन सिरी ‘ए’को शीर्षस्थानमा ७ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । उपाधि दाबेदारको रूपमा अघि बढिरहेको लाजियो एसी मिलानसँग ३—० ले पराजित भएको थियो । सोही दिननै युभेन्टसले सहरी प्रतिद्वन्द्वी टोरिनोमाथि ४–१ को सानदार जित निकाल्दै स्पष्ट ७ अंकको अग्रता लिन सफल भएको हो । युभेन्टसको ३० खेलबाट ७५ अंक पुगेको छ । दोस्रो स्थानको लाजियोले ६८ अंक रहेको छ ।

घरेलु मैदान टुरिनमा युभेन्टसको जितमा पाउलो डिबाला, जुवान कोर्डाडो र क्रिस्टियानो रोनाल्डोले गोल गरेको छ । तत्यसमा एक गोल उपहार समेत पाएको थियो । खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले कोर्डाडोको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । डिबालाको यो पछिल्लो ५ खेलमा पाँचौँ गोल हो । १८औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहारलाई टोरिनोका गोलरक्षक साल्भाटोरे सिरिगुले उत्कृष्ट बचाउ गरे ।

२९औं मिनेटमा कोर्डाडोले रोनाल्डोको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयमा म्याथिस डी लिग्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि टोरिनोका कप्तान आन्द्रिए बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । ५१औं मिनेटमा टोरिनोले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । ६१औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै युभेन्टसलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

ड्यानिलोको पेनाल्टी क्षेत्रबाहिरको प्रहार ओला ऐनाको हातमा लागेपछि रेफ्रीले फ्रिकिक दिएका थिए । झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले फ्रिकिकलाई वालको माथिबाट टप कर्नरमा छिराउँदा गोलरक्षक सिरिगुले बचाउने कुनै अवसर पाएनन् । रोनाल्डोले युभेन्टसका लागि पहिलोपटक फ्रिकिकमा गोल गर्न सफल भएका हुन् । यसक्रममा रोनाल्डोले ४३ फ्रिकिक प्रयास खेर गएको थियो ।

८७औं मिनेटमा डग्लस कोस्टाको क्रसमा कोफी जिजीले आत्मघाती गोल गरेपछि युभेन्टस ४–१ ले विजयी हुन सफल भयो । यो खेलमा पहिलो रोजाइमा मौका पाएका ४२ वर्षे भेट्रान गोलरक्षक जियानलुजी बुफोनले सर्वाधिक सिरी ‘ए’ खेल्ने कीर्तिमान बनाएका छन् । बुफोनले सिरी ‘ए’ मा ६४८ खेल खेल्दै एसी मिलानका पूर्वडिफेन्डर पाउलो माल्दिनी (६४७) को कीर्तिमान तोडेका हुन् ।

सिरी ‘ए’कै अर्को खेलमा उपाधि दाबेदारको रूपमा अघि बढेको लाजियो घरेलु मैदानमा एसी मिलानसँग स्तब्ध बनेको छ । लाजियो एसी मिलानसँग ३–० ले स्तब्ध बनेको हो । एसी मिलानसँगको हारसँगै लाजियोको उपाधि जित्ने सम्भावना न्यून बनेको छ । मिलानको जितमा हकान कलहानोग्लु, ज्लाटन इभ्राहिमोभिच र एन्टी रेविकले गोल गरे । जितसँगै मिलान ३० खेलबाट ४६ अंक जोडेर छैटौं स्थानमा उक्लन सफल हुँदा लाजियो ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । यस्तै, अर्को खेलमा ससुलोले लिसमाथि ४–२ को जित निकालेको छ ।

प्रकाशित मिति:July 6, 2020