इन्जिनियर उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा दायर

  Sampatti News

July 8, 2020

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगन्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्याय विरुद्ध अख्तियारले मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनले तीन करोडभन्दा बढी गैर कानुनी सम्पत्ति आर्जन गरेको खुलेपछि अख्तियारले मुद्धा दायर गरेको हो ।
२०६३ पुस ५ गते सरकारी सेवामा प्रवेश गरेका उपाध्यायले करिब १४ वर्षे जागिर अवधिमा तीन करोड १० लाख २७ हजार एक सय ५३ रुपैयाँ गैर कानुनी आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उपाध्यायले गैर कानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको बताए ।
सामुदायिक खानेपानी तथा सरसफाइ इकाई कार्यालय डडेलधुरामा २०६३ पुस ५ मा राजपत्राङ्कित तृतीय श्रेणी(इन्जिनियर)मा स्थायी नियुक्ति पाएका उपाध्याय २०६९ चैत १५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए। सुरु नियुक्ति लिएदेखि २०७७ जेठ मसान्तसम्म उपाध्यायले पाँच करोड एक लाख ४३ हजार चार सय ५१ रुपैयाँ आर्जन गरेको खुलेको छ।

जस मध्ये एक करोड ९१ लाख १६ हजार दुई सय ९८ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति:July 8, 2020