कर्मचारी समायोजनका लागि फारम भर्ने अन्तिम म्याद हिजो बुधबारबाट सकियो ।

  Sampatti News

January 17, 2019

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार  हिजो बुधबार कर्मचारी समायोजनका लागि फारम भर्ने अन्तिम म्याद रहेकोमा कर्मचारी समायोजनका लागि ७१ हजार ५९८ जनाले आवेदन फारम भरेका छन् । यस्तै २५ हजारभन्दा बढी संघ रोज्दै नरोज्ने कर्मचारी रहेका छन् ।

मन्त्रालयका अनुआर केही पदहरु अतिरिक्त समूहमा रहेका छन्,जसले कर्मचारी समायोजन फारम भर्नु पर्दैन । जस्तै  महालेखा परीक्षक अन्तर्गतका कर्मचारीहरुले समायोजन फारम भर्नु पर्दैन भने अवकास हुन केही समय बााकी रहेका कर्मचारीले  पनि फारम भर्न अनिवार्य छैन । तर फारम नभरेकालाई पनि समायोजन गर्न बाधा नपर्ने कर्मचारी समायोजन अध्यादेशमा व्यवस्था रहेको  छ ।

फारम भर्ने म्याद सकिएपछि डाटा प्रोसेसिङका निम्ति  केही समय लाग्ने हुनाले अब तथ्यांक एकीकृत गरिसकेपछी माथिल्लो तहका कर्मचारीबाट समायोजनको काम सुरु गर्ने र क्रमिक रुपमा तल्लो तहका कर्मचारीहरुको समायोजन गर्दै जाने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत पुस १३ गतेदेखि २१ दिने म्याद राखेर अनलाइन आवेदन फारम खुल्ला गरेको थियो । फारम भर्दा कर्मचारीहरुले आफू समायोजन हुन चाहेको तह वा स्थान प्राथमिकता क्रमअनुसार एकभन्दा बढी रोज्ने विकल्प रहेको  थियो ।

सरकारले समायोजन रोज्ने कर्मचारीहरुका लागि एक तह बढुवा र दुई ग्रेड वृद्धिको व्यवस्था गरेको छ । तरपनि लेखा,प्रशासन, स्वास्थ्य, शिक्षाका कर्मचारी र स्थानीय तहका कर्मचारीहरुले भने समायोजन अध्यादेशका कतिपय व्यवस्थाले कर्मचारीबीच विभेद भएको भन्दै दबावमुलक कार्यक्रम पनि गरेका थिए । यसैगरी कर्मचारी समायोजन अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्तासमेत भएको छ ।

विप्लब नेतृत्वको नेकपा सम्बद्ध कर्मचारीहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार कारण देखाउ आदेश जारी गरेको छ ।

 

प्रकाशित मिति:January 17, 2019