इन्जीनीयर गुप्ताले यसरी कमाए १६ करोड, सम्पत्ति लुकाउन श्रीमतीकै मिलेमतो

  Sampatti News

September 13, 2020

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागका इन्जीनीयर काशीप्रसाद गुप्ताबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्ताबिरुद्ध भ्रष्टाचार गरी गैरकानुनी रुपमा १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । ललितपुर डिभिजनदेखि विभिन्न कार्यालयमा प्रमुख भएका गुप्ताले विकासको बजेटमा कागज मिलाएर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको खुल्न आएको छ ।

सोही भ्रष्टाचारमा गुप्ताकी पत्नी मिता गुप्ता समेत संलग्न रहेको पाइएको छ । पति काशीप्रसाद गुप्ताले पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरेको पाइएकाले उनी बिरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउन छिपाउन सहयोग, दुरूत्साहन गरेको आरोप श्रीमती मितामाथि लगाइएको छ । अख्तियारले इन्जीनीयर काशी गुप्ता र उनकी श्रीमती मिता दुवैलाई जनही १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँ ८६ पैसा नै बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।

इन्जीनीयर गुप्ताले भ्रष्टाचार गरेको सम्पत्ति आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रीति कुमारी गुप्ता, डा। रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार ७८३ रुपैयाँ ९८ पैसा रकम लुकाई छिपाई राखेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

उनीहरुबिरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुको सम्पत्ति जफतका लागि मात्र मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । इन्जीनीयर गुप्ता संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर हुँदा अख्तियारले उनको छानबिन सुरु गरेको थियो ।

प्रकाशित मिति:September 13, 2020