५५ जना सुरक्षाकर्मि कटौती पछि प्रचण्डको सुरक्षा अब पूर्वलडाकुले दिने

  Sampatti News

February 18, 2021

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीसँग असन्तुष्ट बनेर बाहिरीएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ । उनलाई पहिले सरकारले प्रहरी नायव उपरिक्षकको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरेको थियो भने अहिले प्रहरी नायव निरिक्षकको कमाण्डमा सिमित सुरक्षाकर्मी दिइएको छ ।

‘प्रचण्डको सुरक्षा व्यवस्थापनमा खटिने गरेका सुरक्षाकर्मी मध्ये ३१ जना सशस्त्र प्रहरी र २४ जना नेपाल प्रहरी फिर्ता लगिएका छन् । भिआइपी तथा भिभिआइपीको सुरक्षा व्यवस्थापन सम्बन्धी नयाँ कार्यविधिअनुसार प्रचण्डलाई अब दुई जना नेपाल प्रहरी र १६ जना शसस्त्र प्रहरीले सुरक्षा दिनेछन् । प्रचण्डको सुरक्षामा यसअघि सरकारले ४७ जना शसस्त्र प्रहरीलाई खटाएको थियो । शसस्त्र प्रहरी मुख्यालयले प्रचण्डको सुरक्षामा खटाइएका मापदण्ड विपरीत सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको जनाएको छ । हाल इन्सपेक्टरको कमाण्डमा सशस्त्रको टोलीले प्रचण्डलाई सुरक्षा दिइरहेको छ ।

प्रचण्डले प्रधानमन्त्री हुँदा पाएको सुरक्षा सुविधा अहिलेसम्म लिइ राखेका थिए । उनले उनले तत्कालीन प्रहरी निरीक्षक दानबहादुर मल्ललाई पीएसओको रुपमा राखेका थिए। आफूसँगै रहेका बेला मल्ल डीएसपीमा बढुवा भएपछि प्रचण्डले उनैलाई निरन्तरता दिएका थिए । मल्लको सरुवा भएपछि त्यस ठाउँमा प्रचण्डले डीएसपीलाई नै राखेका थिए । प्रचण्डसँग पछिल्लो समय रहेका डीएसपी विनोद शर्मालाई फिर्ता बोलाइसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल प्रचण्डसँग दुई जना प्रहरी नायव निरीक्षक सई पीएसओका रुपमा छन् ।

यसै क्रममा सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा ९दाहाल–नेपाल० का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् ।दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्व न्द्वकालमा उनी बटालिन कमान्डरसम्म भएका थिए ।

कान्तिपुर दैनिकका अनुसार यसरी खटिएका पूर्वलाडकुको ड्रेस कोड पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्सपेक्टरको कमान्डमा ४७ गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए ।हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै दाहालका अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए । पूर्वलडाकुसमेत रहेका दाहाल–नेपाल समूहका नेता युवराज दुलालले सुरक्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा पूर्वलडाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापन अन्तरगत खटिएको बताए ।

प्रकाशित मिति:February 18, 2021