प्रधानमन्त्री ओली ‘कुहिएको अन्डा’ जस्तै हुन्ः दाहाल

  Sampatti News

March 7, 2021

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै ‘कुहिएको अन्डा’ को संज्ञा दिएका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए कामै नलाग्ने गरी कुहिएर जाने बताएका हुन् ।कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भए तापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैं चलिरहने उनले स्पष्ट पारे । उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष भएको पनि दाहालले बताए । माओले बिग्रिएका कम्युनिष्टलाई कुहिएको अन्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अन्डा’ भएको बताए ।

‘एकपटक माओत्सेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्नुभएको थियो । अन्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अन्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहिएको अन्डा हो,’ उनले भने, ‘कुहिएको गन्हाएको अन्डालाई खाइँदैन नि ! त्यसलाई गाडिन्छ या जलाइन्छ । तपाईं हामीचाहिँ स्वस्थ्यवर्द्धक जीवनशील तत्व हो । ‘

प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध ‘जनयुद्ध’ सुरु भएको भनेको स्मरण गर्दै उनले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताए । उनले भने, ‘मैले प्रतिक्रान्तिको षड्यन्त्रको विरुद्ध शान्तिपूर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ । जनयुद्धमा सर्वोच्चको फैसलापछि तपाईंरहामी सबै विजयी भएको अवस्था हो । ‘उनले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे ।

उनले नेत्रविक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुँदै उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए । ‘विप्लवजी पनि अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाईं यहाँ हुनुहुनेछ भनेको थिएँ,’ उनले भने, ‘एउटा कालखण्डमा एउटैमात्र प्रचण्ड हुन्छ । दुईवटा पात्र एकैचोटी हुँदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुँदैन भनेकै थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो ।’

प्रकाशित मिति:March 7, 2021