मुख्यमन्त्री शाक्यको राजीनामा प्रदेशप्रमुख समक्ष पेस

  Sampatti News

October 27, 2021

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा पेस गरेकी छिन् ।

उनले प्रदेशसभा बैठकमा राजीनामा दिने घोषणा गर्दै सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएकी हुन् ।

सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

जस अनुरुप मुख्यमन्त्री शाक्यले ३० दिन भन्दा केहि ढिलो विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् ।

सो प्रस्तावमाथि छलफल भइ मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेकी हुन् ।

योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।

प्रकाशित मिति:October 27, 2021