गठबन्धनको बैठकअघि सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल

  Sampatti News

February 17, 2022

काठमाडाैँ-सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

उहाँहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनलाई जोगाएर एमसिसीलगायतका विषयलाई निष्कर्षमा लैजानेबारे कुराकानी भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ ।

सोही बैठकको तयारीका लागि आफूहरुले छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “हामी गठबन्धनलाई कसरी बचाउने र एमसिसीबारे कसरी निकास दिने भन्नेमा नै केन्द्रीत छौँ ।”

उहाँले पाँच दलको बैठकमा छलफल गरेर एउटा निष्कर्ष निकाल्नेमा नै जोड रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले आफूहरु गठबन्धनलाई जोगाएर अन्य विषयमा सहमति गराैँ भन्ने मनसायमा रहेको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेताहरुले धेरै बोलेर कुरा बिग्रेको भन्दै आफूले अहिले केही पनि नबोल्ने प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति:February 17, 2022