कृषि गणनाका लागि ३३ सुपरिवेक्षक र १ सय ३३ गणक

  Sampatti News

March 29, 2022

केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ ।

नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो ।

झापाका १५ वटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताउनुभयो ।

‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा नौ हजार ४०० कृषि परिवार छ ।

सोही तथ्याङ्कलाई आधार मानेर जिल्लाको १३१ वडालाई ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउन लागिएको अधिकृत लुइँटेलले बताउनुभयो ।

करारमा नियुक्त भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि वैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिइने र त्यसपछि तथ्याङ्क सङ्कलनका लागि ४५ दिनसम्म घरदैलोमा पठाइने उहाँले उहाँले जानकारी दिनुभयो ।

अधिकृत लुइँटेललले भन्नुभयो, “यो गणनाले कृषि मन्त्रालयले दश वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भयो त्यसको पनि विवरण प्राप्त हुने सरकारको अपेक्षा छ ।”

कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरण सङ्कलन गरिनेछ ।

जिल्लामा चैत १ गतेदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको अधिकृत लुइँटेलको भनाइ थियो ।

प्रकाशित मिति:March 29, 2022