बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

  Sampatti News

May 5, 2022

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ ।

प्रमुख/अध्यक्ष पदमा १९७, उपप्रमुख/उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला सदस्यका लागि ७५० जना चुनावी मैदानमा छन् ।

निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा नगरप्रमुखका लागि १३ जनासहित ७५६ जना र सबैभन्दा कम प्रसौनी गाउँपालिकामा अध्यक्षमा १३ सहित १७७ जना उम्मेदवार बन्नुभएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख/अध्यक्षमा १७७, उपप्रमुख/उपाध्यक्षमा १२५ र वडाध्यक्ष ९३८ जना उम्मेदवार बन्नुभएको थियो ।

पुरुष वडा सदस्यमा एक हजार ५५४, महिला वडा सदस्यमा २६३, दलित सदस्यमा ७०२ जनासहित चार हजार २५९ जनाले उम्मेदवारी दिएका थिए । बारामा चार लाख २३ हजार ३२७ मतदाता छन् ।

पाँच सय ४१ मतदान केन्द्र र ३०३ मतदानस्थल कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति:May 5, 2022