कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने

  Sampatti News

May 5, 2022

काठमाडौं – यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताउनुभयो ।

मतदानस्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिन्छन्”, उहाँले भन्नुभयो, “त्यो भन्दा बाहिर र चोकमा सशस्त्र प्रहरीले गस्तीलगायत सुरक्षा निगरानी बढाउनेछ ।”

उहाँले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने जानकारी दिनुभयो । निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि यहाँका नौवटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।

प्रजिअ पाण्डेका अनुसार कञ्चनपुरका नौवटै पालिकामा गरेर दुई हजार ८०० देखि तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी निर्वाचनमा खटिने छन् । प्रमुख जिल्लाअधिकारीसहित सुरक्षा प्रमुखले बिहीबार यहाँको दक्षिण क्षेत्रमा रहेको मतदान केन्द्र र स्थलको अनुगमन गर्ने कार्यक्रम छ ।

त्यसैगरी केही दिनअघि जिल्ला प्रशासन कार्यालयले इण्डो नेपाल समन्वयात्मक बैठक गरेर निर्वाचनको ४८ घण्टाअघि नेपाल–भारत सीमा बन्द गर्न भारतीय पक्षसँग समन्वय गरिसकेको छ । भारतीय पक्षबाट पनि नेपालको स्थानीय तहको निर्वाचनका बेला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नमा सहयोग रहने जनाएको छ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकेको छ । जिल्लामा मतदाताको कूल सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिने भएको छ । यहाँ निर्वाचनका लागि ३४१ मतदान र सहायक मतदान अधिकृतलाई महेन्द्रनगरमा शुक्रबार र शनिबार दुई चरणमा तालिम दिने जनाएको छ ।

त्यसैगरी कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँ आएको मतपत्रहरु मिलाउने काम भइरहेको बताउनुभयो । “तीन लाख १४ हजार मतपत्र आएको थियो, तीमध्ये तीन लाख जति मिलाइसक्यौँ”, उहाँले भन्नुभयो, “मतदान अधिकृत पनि जिल्लाभरि खटाउने गृहकार्य भइरहेको छ ।” निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति:May 5, 2022