सुरक्षाकर्मीद्वारा प्रचारसामाग्री हटाइँदै

  Sampatti News

May 8, 2022

काठमाडौं – पर्सा जिल्लाका विभिन्न स्थानमा स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारको प्रचारप्रसारका लागि सार्वजनिकस्थलमा टाँगिएका पोष्टर पम्प्लेट, ब्यानर तथा पार्टीका झण्डा हटाउन थालिएको छ ।

बिजुलीको पोल, विद्यालय, चोक चौराहालगायत सार्वजनिकस्थलमा निर्वाचन आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री सुरक्षा निकायको टोलीले हटाउन थालेको हो ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिकस्थलमा राखिएको निर्वाचन प्रचारसामग्री हटाउने प्रतिबद्धता व्यक्त गरेपनि ती सामग्री उम्मेदवार र दल स्वयंले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सुरू गरेका हुन् ।

क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेदवारले सार्वजनिकस्थलमा राखेका पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने यस अगाबै प्रतिबद्धता जनाइसकेका थिए ।

तीन लाख ३९ हजार ८३६ मतदातामध्ये पुरुष एक लाख ९१ हजार ५३७ र महिला एक लाख ४८ हजार २८३ र अन्य १६ मतदाता रहेका छन् । पर्सा जिल्लामा १६७ वटा मतदानस्थल र ४०४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित मिति:May 8, 2022