भारतमा कोरोना संक्रमित घट्दै तर दक्षिण कोरियामा ९९ हजार भन्दा बढी

  Sampatti News Online

September 6, 2022

काठमाडौं । भारतमा एकै दिनमा चार हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ। यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म चार हजार चार सय १७ जना कोरोना संक्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ।

यसैसँगै भारतमा चार करोड ४४ लाख ६६ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन्। भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा पाँच हजार नौ सय १० जनामा संक्रमण देखापरेको थियो। दैनिक संक्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ।

भारतमा अहिले सक्रिय संक्रमितको सङ्ख्या ५२ हजार तीन सय ३६ जना रहेका छन्। नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन्।

२४ घण्टाको समयावधी बिहीबार मध्यरात अर्थात कोरोना संक्रमणबाट भारतमा २३ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २८ हजार ३० भन्दा बढीको मृत्यु भएको छ। भारतमा हिजो एक दिनमा छ हजार ३२ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल चार करोड ८६ लाख चार सय ९६ जना कोरोनामुक्त भएका छन्।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो।। सो समयबाट हालसम्म दुई अर्ब १३ करोड ७२ लाख ६८ हजार छ सय १५ भन्दा बढी मात्रा खोप लगाइएको छ। भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना संक्रमण उल्लेखनिय रुपमा घटेको छैन्।

सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ संक्रमित थपिएका छन्। हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको सङ्ख्या दुई करोड ३७ लाख छ हजार चार सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।

सोमबार कोरोना संक्रमणको कारण ४३ जनाको मृत्यु भएको यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार एक सय ९३ पुगेको छ। दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन।

प्रकाशित मिति:September 6, 2022