भारतमाथि न्यूजिल्याण्डको फराकिलो जित

  Sampatti News Online

November 25, 2022

काठमाडौं । न्यूजिल्याण्ड घरेलु टोलीले पहिलो खेलमा भारतलाइ सात विकेटले विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा भारतले दिएको ३ सय ७ रनको लक्ष्य न्यूजिल्याण्डले ४७.१ ओभरमा तीन विकेट गुमाएर जित हात पारेकाे छ । उसका लागि टम लाथमले करियरकै उत्कृष्ट ब्याटिङ गरे ।

१०४ बलको सामना गरेका लाथमले १९ चौका र पाँच छक्कासहित अविजित १४५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो उच्च स्कोर हो । यसअघि यो प्रारूपमा लाथमको उच्च स्कोर १३८ रन थियो । त्यस्तै, उनको यो सातौँ शतक हो । कप्तान केन विलिम्यसनले पनि आज उत्कृष्ट पारी खेले ।

९८ बलको सामना गरेका उनले सात चौका र एक छक्काको सहयोगमा अविजित ९४ रन बनाए । विलियम्सन र लाथमबीच चौथो विकेटका लागि १६५ बलमा अविजित २२१ रनको साझेदारी बन्यो । त्यस्तै, डेभन कन्वेले २४, फिन एलनले २२ र डारियल मिचेलले ११ रन जोडे । भारतका लागि उमरान मलिकले दुई र शार्दुल ठाकुरले एक विकेट लिए ।

त्यसअघि अकल्याण्डस्थित इडेन पार्क मैदानमा टस हारेर ब्याटिङ गर्ने मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ६ रन बनाएका थिए । उसका लागि श्रेयस अय्यरले उत्कृष्ट पारी खेले । उनले ७६ बलमा चार चौका र चार छक्काको मद्दतमा ८० रन बनाए ।

त्यस्तै, ओपनिङ ब्याटर तथा कप्तान शिखर धवन र शुभमन गिलले पनि अर्धशतकीय पारी खेले । धवनले ७७ बलमा १३ चौकाको मद्दतमा ७२ र गिलले ६५ बलमा एक चौका र तीन छक्काको सहयोगमा ५० रनको योगदान दिए । त्यस्तै, वासिङ्टन सुन्दरले विस्फोटक पारी खेले ।

उनले १६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा नटआउट ३७ रन बनाए । त्यस्तै, सन्जु सामसनले ३६ र ऋषभ पन्तले १३ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि लकी फग्र्युसन, टिम साउथीले तीन/तीन र एडम मिल्नेले एक विकेट हात पारे । आजको जितसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ । भारत न्यूजिल्याण्डबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।

प्रकाशित मिति:November 25, 2022