रवि लामिछाने गृहमन्त्री र विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री हुने पक्का

  Sampatti News Online

December 26, 2022

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने भएका छन् ।

उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेछन् भने गृह मन्त्रालयमा दाबी गरिरहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय नपाउने पक्का भएको उनीनिकट एक नेताले बताए ।

अब श्रेष्ठसँग परराष्ट्र वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एक रोज्नुपर्ने विकल्प छ ।

सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको शपथ लिँदा केही मन्त्रीहरूले पनि शपथ लिने भएका छन् ।

नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पौडेल उपप्रधान तथा अर्थमन्त्रीका रूपमा सरकारमा सहभागी हुने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन हुने सरकारमा मन्त्रालय बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक चलिरहेको छ । बैठकले एमालेलाई अर्थ मन्त्रालय दिने टुङ्गो लगाएको हो । त्यस्तै नेताहरू दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राई मन्त्री हुने भएका छन् ।

प्रकाशित मिति:December 26, 2022