पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउ परेपश्चात् पाकिस्तानमा प्रदर्शन

  Sampatti News Online

May 10, 2023

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरेका छन् ।

आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि इस्लामावाद उच्च अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको थियो । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउ परेपश्चात् भडकिएको हिंसा कारण पाकिस्तानमा सरकारी तथा नीजि शैक्षिक संस्था बन्द भएका छन् ।

मंगलबार इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सेनाले उनलाई पक्राउ गरेपछि उनका समर्थक देशैभरी विरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपियाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

आइतबारको एक र्यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए– फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् ।

यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने– ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।

उनको दल तहरिक-ए-इन्साफले मानिसहरूलाई बुधवार इस्लामावादस्थित ज्युडिसिअल कम्प्लेक्स बाहिर जम्मा हुन अपिल गरेको छ।

कतिपय समर्थकहरूले लहोरको सैनिक शिविर बाहिर शिविर बनाएर रात बिताएका थिए।

उनको पक्राउको खबर फैलिएपछि भीड सैनिक कमान्डरको घरभित्र प्रवेश गरेको थियो। खानका समर्थक र सुरक्षा फौजबीच भिडन्त चलिरहँदा देशभर मोबाइल सेवा अवरुद्ध छ। हिंसामा एक जनाको ज्यान गएको छ।

प्रकाशित मिति:May 10, 2023