महोत्तरीमा भिटिएमको अभाव, स्वाब सङ्कलनमा कठिनाई

  Sampatti News

July 19, 2020

महोत्तरी । महोत्तरीमा पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा स्वाब सङ्कलन सुस्त भएको छ। शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा भिटिएम कमि भएको कारण स्वाब संकलनमा कठिनाई भएको जानकारी दिएको हो।

“तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्”, कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भन्नुभयो, “तर, हामीसँग पर्याप्त भिटिएम नहुँदा तत्काल पिसीआर परीक्षण गरिनुपर्ने व्यक्तिको पनि स्वाब सङ्कलन गर्न सकेका छैनौँ।” पछिल्ला केही दिनदेखि त स्वाब सङ्कलन रोकिएकै अवस्थामा पुगेको झाको भनाइ छ।

जिल्लामा गत चैत तेस्रो सातादेखि क्रमशः क्वारेन्टिन केन्द्रहरु सञ्चालनमा आएका थिए। जेठको दोस्रो सातातिर भारतबाट फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा असार लाग्दासम्म क्वारेन्टिन केन्द्रमा बस्नेको सङ्ख्या चार हजारसम्म पुगेको थियो। यद्यपि यो सङ्ख्या अहिले घटेर २८८ मा झरेको कार्यालयले जनाएको छ। जिल्लामा ९५ सम्म पुगेका क्वारेन्टिन केन्द्र पनि अहिले ३२ मा झरेको छ। केन्द्रमा १४ दिन बसेर थप लक्षण नदेखिएपछि होम क्वारेन्टिनमा जाने बढेपछि र सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बिरामी गएपछि केन्द्रमा सङ्ख्या घटेको हो।

जिल्लामा अहिलेसम्म (शनिबारसम्म) ३ हजार ६ सय ५ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ। तीमध्ये ८ सय १० को पोजेटिभ र दुई हजार ६ सय ७० को नेगेटिभ नतिजा आएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाले बताए। स्वाब सङ्कलन गरिएकामध्ये १ सय २५ को नतिजा प्राप्त हुन अझै बाँकी छ।

जिल्लामा अहिले १ सय ८१ आइसोलेसन श्यया छन्। ती श्ययामा २० पुरुष र ४ महिलासहित २४ छन् । होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या पनि घटेर अहिले ३ सय १७ मा झरेको छ। जिल्लामा असार पहिलो सातासम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३ हजार ५ सय सम्म पुगेको थियो। जिल्लाका अस्पतालबाट अहिलेसम्म ३ सय १६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन्। सङ्क्रमितमध्ये कतिपय उपचारका क्रममा धनुषाका आइसोलेसन श्ययामा गएका हुँदा उतैबाट निको भएर घर फर्केको झाको भनाइ छ।

भारतसँग खुला सीमाका कारण सङ्क्रमण सन्त्रास कायमै रहेको हुँदा अहिले हिँडडुल र आवागमनका क्रममा सुरक्षा सतर्कता घटेको स्वास्थ्यकर्मीले औँल्याएका छन्। असारदेखि नै क्रमशः खुकुलिँदै गएको लकडाउनसँगै बजारमा बढ्दो भीडले जोखिम कायमै रहेको झाको भनाइ छ। सधैँ मास्क लगाएर हिँड्ने, भीडभाडमा ननिस्कने, शारीरिक दूरीको ख्याल गर्ने, आन्तरिक सरसफाइ र साबुनपानीले हात धोेइरहने, सफा, ताजा र स्वच्छ खानेकुरा खाने एवं स्वास्थ्यकर्मीको सम्पर्कमा रहने कुरा सङ्क्रमणबाट जोगिने आधारभूत कुरा भएका हुँदा बिर्सन नहुने स्वास्थ्यकर्मीको सुझाव छ।

प्रकाशित मिति:July 19, 2020