प्रदेश २ प्रमुखमा डा.अहिराज, को हुन् डा.अहिराज ?

  Sampatti News

February 19, 2021

काठमाडौं । मधेश मामिलाका जानकारी तथा राजनीतिक विश्लेषक डा.राजेश अहिराज प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरी डा.अहिराजलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरी डा।अहिराजलाई नियुक्त गरिएको जनाइएको छ ।

को हुन् डा.राजेश अहिराज ?

दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा सक्रिय डा.राजेश अहिराज एउटा प्रखर वक्ता, मधेश मामिलाका जानकार तथा राजनीतिक विश्लेषक रुपमा परिचित छन् । उनले ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि गरेका छन् । नेपाली राजनीतिबारे सूक्ष्म अध्ययन गरेका डा.अहिराजले गर्दै आएका विश्लेषणात्मक विचार राष्ट्र र राष्ट्रियताप्रति ओतप्रोत भएको देखिन्छ ।

उनले विभिन्न पुरस्कार, सम्मानपत्र तथा नेपाल विद्याभूषण ‘क’ बाट विभूषित भइसकेका छन् । नेपाली राष्ट्रियता तथा राष्ट्रवादको वकालत गर्दै उनले नेपालमा समतामूलक समाज निर्माणको पक्षमा छलफल तथा बहस गर्दै आएका छन् ।

डा।अहिराजको जन्म रौतहट जिल्लाको तत्कालीन संग्रामपुर गाउँपालिका वडा नं. ४ (हाल गढीमाई नगरपालिका–४) मा वि.सं. २०३६ जेष्ठ ६ गते भएको थियो ।

अध्ययनः

डा.अहिराजले माध्यमिक तहको शिक्षा श्रीमती कृष्णादेवी माध्यमिक विद्यालय विष्णुपुर, रौतहटबाट सन् १९९५ मा पूरा गरेका छन् । यसैगरी बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल भारतको एसएलके कलेज सितामढीबाट सन् १९९७ मा एससी उत्तीर्ण गरेका हुन् ।

यस्तै, त्रिचन्द्र कलेज काठमाडौंबाट सन् २००५ मा बी.ए. (सोसियोलोजी एजण्ड कल्चर), युनिभर्सिटी क्याम्पस काठमाडौंबाट सन् २००६ मा बी।एड (पोलिटिकल साइन्स एण्ड हिस्ट्री), नेपाल ल क्याम्पसबाट सन् २००९ मा एल.एल.बी. पूरा गरेका छन् । त्यसैगरी, ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१५ मा विद्यावारिधि गर्नुभएको छ ।

पुरस्कार तथा सम्मानः

उनलाई नेपाल सरकारद्वारा संविधान दिवसको अवसरमा वि।सं। २०७७ असोज ३ गते ‘प्रवल जनसेवाश्री’ सम्मानित गरेको छ । यस्तै, प्रधानसेनापतिबाट ‘प्रधानसेनापति पदक–२०७६’ पुरस्कार, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पुरस्कार, नेपाल विद्याभूषण–२०७४, प्रेस काउन्सिल पुरस्कार–२०७३ लगायत एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेका छन्।

यसैगरी पत्रकारिता क्षेत्रमा उनले एक दर्जनभन्दा बढी विषयगत विभिन्न तालिमहरु प्राप्त गर्नुभएको छ भने विभिन्न विषयहरुमा प्रशिक्षकको रुपमा समेत भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति:February 19, 2021