फरार अभियुक्त पक्राउ गरियो

  Sampatti News

March 29, 2021

काठमाडौँ । ज्यान मारेको मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।अभियुक्तलाइ पक्रउ गरि आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाइ घरबाटै पक्राउ गरेको थियो । सप्तरीको बलानबिहुल गाउँपालिका–३० बस्ने तेलीसमेतले विसं २०५७ साउन ३ गते राति करिब १२ बजेको समयमा दशरथ साहको हत्या गरेका थिए । पिसाब फेर्न भनी सडक बाटोमा निस्केको अवस्थामा प्रतिवादी तेली भन्ने धनिलाल साहसहितकाले घेरा हाली खुकुरी तथा लाठीसमेतको प्रहारबाट दशरथ साहलाई कर्तव्य गरी मारेको प्रहरीको भनाइ छ ।
त्यसपछि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा सप्तरी जिल्ला अदालतबाट विसं २०६५ चैत ११ गते, तत्कालीन पुनरावेदन अदालत राजविराजबाट २०६७ चैत २२ गते तथा सर्वोच्च अदालतबाट २०७२ मङ्सिर १ गतेको फैसलाले प्रतिवादी लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई २० वर्ष कैद ठहर भएको थियो ।

प्रकाशित मिति:March 29, 2021