प्रदूषण बढ्दा देशभर घट्यो तापमान

  Sampatti News

March 30, 2021

काठमाडौँ । प्रदूषणका कारण एसियाभरकै उच्च जोखिममा नेपाल रहेको छ र वायुमण्डल धुम्म भएको देखिन्छ । प्रदुषण वढेसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०।८ डिग्री सेल्सियसमा झरेपछि चिसो बढेको जानकारी दिनुभयो । मौसमविद् पौडेलले भन्नुभयो, “पानी पर्ने छेकछन्द छैन, त्यसैले तापक्रम अझै घट्न सक्छ ।” पूर्वानुमान महाशाखाका अनुसार सोमबार जुम्लाको अधिकतम तापक्रम २१.९ र न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस पुगेको छ । एक साताअघि ३८ डिग्री सेल्सियस नाघेको नेपालगञ्जको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस आसपासमा झरेको छ । गर्मी हुने भैरहवा, सिमरा र विराटनगरको तापक्रम ३४ डिग्री सेल्सियसकै आसपास छ । पहाडी जिल्ला ताप्लेजुङ, ओखलढुङ्गा, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।
सोमबारदेखि हावाको बहाव केही बढेकाले ‘भिजिबिलिटी’ सामान्य बढेको छ । सोमबार मध्याह्न आकाश खुलेर थोरै घाम देखिँदा काठमाडौँ आसपास एक हजार पाँच सय ‘भिजिबिलिटी’ कायम भएको थियो । तर, साँझ पर्दै जाँदा तुवाँलो बाक्लिँदै गएको थियो । पौडेलले भन्नुभयो, “पानी नपरे पनि हावा राम्ररी चलेको खण्डमा वायु प्रदूषणमा थोरै कमी आउने सम्भावना छ । कतैकतै फाट्टफु्ट्ट पानी पर्ने सङ्केत रहे पनि पानि पार्ने बलियो प्रणाली भने छैन ।”

प्रदुषणको मुख्या कारण डढेलो नियान्त्रणमा नआउदा प्रदुषण अझै बढ्न सक्ने अनुमान गरीयको छ ।

प्रकाशित मिति:March 30, 2021