कर्णाली प्रदेश, एमालेका तीन मन्त्रीले दिए राजीनामा

  Sampatti News

April 6, 2021

काठमाडौँ । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका छन् । अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दलबहादुर रावल, र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
सरकारलमा एमालेका तीन जना मन्त्री सहभागी थिए । मुख्यमन्त्री शाहीलाई राजीनामा पत्र बुुझाएलगत्तै उनीहरुले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका हुन् । आथिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि आफूहरुले मन्त्री पदमा राजीनामा दिने निर्णय गरेको बताउनुभयो ।
सोही निर्णयअनुसार एमालेबाट मन्त्री बनेका तीनै जनाले राजीनामा दिएका हुन् । एमालेको समर्थन फिर्ता भएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ । १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रसँग बहुमत छैन ।
४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ ।कर्णालीमा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति:April 6, 2021