माओवादी केन्द्रले गर्यो वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

  Sampatti News

April 8, 2021

काठमाडौँ । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गर्नुभयो । उहाँहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेर बैठक अवरुद्ध गरायको हो ।
वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भन्नुभयो अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरिएको छ । आज शुरु भएको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएको हुँदा भ्रष्टाचारलाई नै प्रोत्साहन गर्न खोजिएको हो कि भनी आरोप लगाउनुभयो ।
उहाँले सरकारले विगतका वर्ष झै यस वर्षमा पनि सरकारको नीति कार्यक्रम ल्याइँदा आइएनजीओहरुलाई अनुदान बजेट विनियोजन गर्ने प्रावधान राखिएको थिएन भन्नुभयो । उहाँले अहिलेको सरकारले मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख रकम एमाले पार्टीलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने प्रयोजनका निमित्त के–के मापदण्ड तयार गरेर दिइएको हो संसद्मा प्रष्ट पार्न माग गर्नुभयो ।
नेता बानियाँले सरकारले आफैँ निर्माण कम्पनी स्थापना गरी सञ्चालन गर्न भनी विधेयक ल्याउन खोजिएकामा आपत्ति प्रकट गर्दै जनताकै सहभागितामा निजी कम्पनी सञ्चालन हुनु स्वभाविक भएको भन्दै सरकारले नै कम्पनी स्थापना गर्नु नाजायज र अनियमित कार्यलाई प्रत्साहित गर्न खोजिएको धारणा व्यक्त गर्नुभयो । बैठकमा साझा विवेकशील दलका रमेश पौड््यालले सरकारले प्रतिपक्ष दलहरुसँग सहकार्य, विचारविमर्श नै नगरी एकपक्षीय ढङ्गबाट आफ्नो चुनावी क्षेत्रमा प्रभाव पार्ने उद्देश्यले बजेट र योजनाको बाँडफाँट गर्नु नाजायज भएको उल्लेख गर्नुहुँदै सरकारले विद्युतीय बस खरिद प्रक्रियालाई तत्काल स्थगन गर्नुपर्ने बताउनु भयो ।

प्रकाशित मिति:April 8, 2021