मकवानपुरमा डढेलोले क्षति

  Sampatti News

April 9, 2021

काडमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर नष्ट भएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा रु तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छडढेलोले एक हप्ता अगाडि मकवानपुरमा एक वृद्ध महिलाको मृत्यु भएको छ भने पाँच घाइते भएको प्रहरीले जनाएको छ । घाइते सामान्य उपचारपछि घर फिर्ता भएको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
त्यस्तै डढेलोले तीन पक्की र ३५ कच्ची घर जलेर नष्ट भएकोे छ । साथै २३ गोठ तथा बाख्रालगायतका ५० चौपाया जलेर मरेको छ । केही सङ्घ÷ संस्थाले पीडितलाई राहत सहयोग गरेको पनि जानकारी दिइएको छ ।
यसैबीच डढेलोको कारण मकवानपुरगढीका खानेपानी तथा सिँचाइका पाइपमा क्षति पुगेको छ । त्यहाँ खानेपानीको समस्या भएको छ । गत मगङ्लबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ को सानोगढीबाट शुरु भएको डढेलोले मकवानपुरगढी बृहत् खानेपानीको १४० एमएमको १०० मिटर पाइप नष्ट भएको बताइएको छ ।
त्यहाँ प्रथम धवाडी सिँचाइ, माथिल्ला धवाडी सिँचाइ, धवाडी दोस्रो खानेपानी र धरमपानी खानेपानीअन्तर्गत ४०० मिटर पाइप नष्ट भएको धवारी दोस्रो खानेपानी उपभोक्ता समूहका सचिव इमनाथ तिमल्सिनाले जानकरी दिनुभयो । अप्ठ्यारो ठाउँ भएकाले आगो निभाउनसमेत समस्या रहेको उहाँले बताउनुभयो । मकवानपुरगढी बृहत् खानेपानी योजनाअन्तर्गतका १५० मिटर पाइप पनि डढेलोका कारणले नष्ट भएको उक्त बृहत् खानेपानी उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति:April 9, 2021