आधुनिक योग भवन निर्माण गरिदै

  Sampatti News

April 15, 2021

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा आधुनिक शैलीको योग भवन निर्माणको कार्य शुरु गरिएको छ । नगरपालिकाको लगानीमा सिद्धबैजनाथ वृद्ध मिलन केन्द्र तथा योग भवन निर्माणको कार्य शुरु गरिएको हो ।
एकैसाथ १०० जनाभन्दा बढीले योग गर्न मिल्ने भवन निर्माणका लागि कार्य अगाडि बढाइएको छ । भवनमा योगा हलसहित कार्यालय कक्ष, शौचालय, स्नानघर निर्माणको कार्य भइरहेको नगरपालिकाका इञ्जिनीयर दीपक धामीले बताउनुभयो । नगरपालिकाले योग भवन निर्माणका लागि रु १० लाख रकम खर्च गरी फाउन्डेसनको कार्य पूरा गरेको छ । आगामी आवमा भवन निर्माणका लागि थप बजेटको व्यवस्था गरी कार्य अगाडि बढाउने योजना अघि सारिएको छ ।
योगा भवन निर्माणको कार्य पूरा गर्नका लागि रु ६० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ । भवन निर्माणका लागि स्थानीयवासीले तीन कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् । निर्माण कार्य शुरु भएको योगा भवनको अवलोकन गर्दै नगर उपप्रमुख तुलसीदेवी हमालले स्वस्थ समाज निर्माणका लागि नगरपालिकाले कार्य अगाडि बढाएको बताउनुभयो । भवन निर्माण पूरा गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भवन निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासीले योगाबाट लाभ लिन सक्ने बताउनुभयो ।

प्रकाशित मिति:April 15, 2021