थप ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि

  Sampatti News

May 2, 2021

काठमाडौँ । देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित् फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
१६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबालिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ रहेका छन् ।

सङ्क्रमित निको भई एक हजार ६१२ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८३ हजार ९९४ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.५ प्रतिशत रहेको छ ।

सङ्क्रमणबाट आज २७ जनाको निधन भएको छ । नेपालमा अहिलेसम्म तीन हजार ३२५ जना सङ्क्रमणबाट निधन भएका छन् । डा गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा तीन हजार ५९५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ सङ्क्रमित भएका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला १२ पुगेका छन् । प्रवक्ताका अनुसार तिनमा मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली छन् ।

प्रकाशित मिति:May 2, 2021