गर्भवती श्रीमतीलाई आउँदैछु भनेर बस चढेका सुरेश र जगतलाई पहिरोले लग्यो, श्रीमानको मृत्युको खबरले श्रीमती बेहोस

  Sampatti News

September 1, 2021

काठमाडौं । घरमा गर्भवती श्रीमती र बा–आमालाई छिट्टै धन कमाएर आउने भन्दै भारत गएका सल्यानका दुई युवा अब कहिल्यै नआउनेगरी अस्ताएका छन् । हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको दुःखद खबर गाउँमा आएको हो ।

सल्यानको त्रीवेणी गाउँपालिका–३ टोट्के निबासी सुरेश खत्री र जगत वलीले बस चढ्नु अघि आफुहरु घर आउन लागेको भन्दै आ–आफना श्रीमती र घरपरिवारलाई जानकारी गराएका थिए । हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको हो । सुरेशको शवलाई हिजो र जगतको शवलाई आज दाहसंकार गरिएको पिडितका आफन्त नाता पर्ने तथा एमाले नेतृ पवित्रा केसीले जानकारी दिए ।

२७ गते दिउँसो १२ बजे पहिरोले बगाएको बस ६ सय मिटर तल टुक्रटुक्रा भएको अवस्थमा भेटिएको भारतीय संचार माध्यमले जानकारी दिएका छन् । सुरेश र जगत विवाह गरेको ऋण तिर्न र घर खर्च चलाउनका लागि गएको चैत्र ३० गते हिमाचल प्रदेशमा स्याउ टिप्न गएका थिए । जगत वली, नोख बहादुर वलीको माइला छोरा र सुरेश केसी, भुपाल खत्रीका कान्छा छोरा छन् ।

झण्डै चार महिनाको अवधिमा हिमाचल प्रदेशमा स्याउ टिपेर एक जनाले ८० , ९० हजार भारतीय रुपैयाँ लिएर आउँदै गरेका थिए । श्रीमानको मृत्युको खबरले श्रीमती बेहोस अवस्थामा रहेको नेतृ केसीले बताए । सुरेशको श्रीमतिको भदौ ६ र जगतको श्रीमतीको भदौ महिनामा बच्चा जन्मिने मिति रहेको केसीले बताए ।

सोही घटनामा परेर अहिले सम्म १७ जनाको मृत्यु भएको छ । माथिबाट ढुङगा खसिरहेकाले उद्धार कार्य कठिनाइ भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । पहिरोले बस, ट्रक, जिप र कार सहित १० वटा पुरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:September 1, 2021