बजारमा कृतिम अभाव सिर्जना गर्न दिइँदैन : साल्ट ट्रेडिङ

  Sampatti News

March 8, 2020

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनले नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै बजारमा अभाव नभएको जनाएको छ । साल्ट ट्रेडिङले आगामी करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी यस्ता दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको प्रष्ट पारेको हो ।

दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आइरहेको कर्पोरेशनका विभागीय प्रमुख व्रजेशकुमार झाले करिब १० महिनालाई पुग्नेगरी नुन मौज्दात रहेको बताए । कर्पोरेशनसाल्ट ट्रेडिङसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात रहेको र अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको उनले जानकारी दिए ।

साल्ट ट्रेडिङले चिनीको पनि पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाईअनुरोध गरेको छ । भागीय प्रमुख झाले जानकारी दिएअनुसार हाल दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा र सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमै रहेको छ।

चिनी उद्योगसँग मात्रै १ लाख १ हजार मेट्रिक टन चिनी

यता आपूर्ति मन्त्रालयले नेपालका चिनी उद्योगहरुसँग मात्रै एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात रहेको ले जनाएको छ। त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको जानकारी दिएको छ । त्यस्तै दुर्गम तथा हिमाली जिल्लामा चार हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको र कम्पनीले फागुन दोस्रो सातासम्म १९ हजार ५२२ मेट्रिक टन धान खरिद गरिसकेको जनाएको छ ।

सरकारले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा पुनः आग्रह गरेको छ। सरकारले गरेको आग्रह र सरकारका निकायहरुले साल्ट ट्रेडिङको जस्तै उपभोक्ताको मागलाई ध्यानमा राखेर अघि बढ्ने हो भने बजारमा कुनै पनि वस्तुको अभाव हुने देखिदैन ।

सरकार र सरकारका सम्बनिधत निकायहरुले उपभोग्य वस्तुहरुको अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई निस्तेज पार्न सके बजारको वस्तुको अभाव पनि नहुने र सामानको मूल्य पनि नबढ्ने अपेक्षा गर्न सकिन्छ ।

साल्ट ट्रेडिङ मात्रै होइन नेपाल आयल निगम, औषधि व्यवस्था विभाग, खाद्य संस्थान लगायतका संस्थाहरुले आफ्नो क्षमताको सही मूल्याङ्कन गरेर बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने बडाईका साथ लाग्ने हो भने कुनैपनि वस्तुको अभाव हुँदैन् ।

उपभोक्ताको दैनिक उपभोग्य वस्तुहरुको आफूर्ति गर्दै आएका संस्थाहरुले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्नेविरुद्ध सरकारले चालेको कदमलाई साथ दिएर लाग्ने हो भने कालोबजारी आफै नियन्त्रण हुन्छ ।

यद्दपी यस कार्यका लागि व्यवसायी तथाा उपभोक्ताहरुको भूमिका पनि उत्तिकै महत्वपुर्ण रहन्छ । सबै सरोकारवालाहरुले आम उपभोक्तालाई केन्द्रमा राखेर व्यापार–व्यवसाय गर्ने र अनुगमन टोलीलाई पनि सहयोग गर्ने गर्ने हो बजारमा कृत्रिम अभाव रोक्न सकिन्छ ।

प्रकाशित मिति:March 8, 2020