कांग्रेस महासचिव ज्योतिरादित्यद्वारा राजीनामा

  Sampatti News

March 10, 2020

भारतीय कांग्रेसका महासचिव ज्योतिरादित्य सिंधियाले पार्टीबाट राजीनामा दिएका छन् । उनले मंगलवार ट्विटरबाट आफुले कांग्रेस पार्टिबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

ज्योतिरादित्य सिंधियाले सन् २०१८ मा मध्य प्रदेशमा भएको निर्वाचन पछिको सरकारमा आफुले नेतृत्व गर्न नपाएको रिस पोख्दै पार्टी छाड्ने निर्णय गरेका हुन् । मध्य प्रदेशमा मुख्यमन्त्री रहेका कमलनाथसँग उनको व्यक्तीगत टकराव थियो । पार्टीले उनलाई मुख्यमन्त्री नबनाएपछि पार्टी नेतृत्वसँग उनी आक्रोशित थिए ।

कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गांधीका नाममा हिजो ९ मार्चको मिति राखेर उनले राजीनामा पठाएको बुझिएको छ । आफु १८ वर्षबाट कांग्रेस पार्टिको सक्रीय राजनीतिमा रहेको जानकारी गराउदै उनले पार्टिले विश्वास नगरेकोले आगामी दिनका लागि पार्टिसँगको समवन्ध विच्छेद गर्न बाध्य भएको पत्रमा जानकारी गराएका छन् । सोमबार राजनीनामा दिएका सिंधियाले मंगलबार विहान भाजमा नेता तथा गृहमन्त्री अमीत शाह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

उनी भारतीय जनता पार्टीमा प्रवेश गरे उनलाई शुरुमा राज्यसभामा लगिने र केन्द्रिय मन्त्रीमण्डलमा सहभागी गराउन सक्ने वाचा भाजपा नेतृत्वले गरेको संचार माध्यमले जनाएका छन् । ज्योतिरादित्य सिंधिया औपचारिकरुपमा अझै भाजपा प्रवेश नगरेपनि उनले कांग्रेस पार्टीबाट राजीनामा दिएका छन् । उनीसँगै मध्य प्रदेश विधान सभाका १९ सासंदले पनि पार्टी छाड्ने तयारीमा छन् । त्यसले मध्य प्रदेशमा कमलनाथको सरकार ढल्ने भएको छ । उनीहरुले भाजपालाई सर्मथन गरे प्रतिपक्ष भाजपाले सरकार बनाउने छ ।

प्रकाशित मिति:March 10, 2020