काठमाडौँमा वायु प्रदूषण अत्यधिक बढ्यो, मास्क प्रयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुझाव

  Sampatti News Online

April 30, 2024

काठमाडौँमा वायु प्रदूषण अत्यधिक बढ्यो, मास्क प्रयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुझाव
काठमाडौँ । काठमाडौँमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कको प्रयोग गर्न सुझाव दिएको छ । यहाँको वायु विश्वकै अस्वस्थकर सूचीको अग्रस्थानमा रहेको जनाउदै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएको हो ।
विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स –याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।
“वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,” मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्यांक छ ।
गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ ।
पछिल्लो समयमा साँझको बेला उपत्यका भित्रका तीनवटै जिल्लामा निकै उच्चरुपले ताते हावा चलेपछि सरुवारोगहरुको समस्या पनि बढ्दै गईरहेको छ ।

प्रकाशित मिति:April 30, 2024