बजारमा कालोबजारीको बिगबिगी, सतुंगलबाट ६ लाख थान मास्क बरामद

  Sampatti News

March 16, 2020

काठमाडौं । प्रहरीले राजधानीको सतुंगलबाट ६ लाख थानभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १० विष्णुदेवी नजिकैको एक गोदामबाट प्रहरीले मास्क बरामद गरेको हो ।

शनिबार यता मात्रै प्रहरीले काठमाडौंबाट ८ लाख ४० हजार थान मास्क बरामद गरिसकेको छ । यसअघि कपनबाट पनि १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आइतबार साँझ सतुंगलको एक घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि प्रशासनले सिलबन्दी गरेको थियो । सिलबन्दी गरिएका बोराहरु सोमबार बिहान खोल्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क भेटिएको हो ।

सतुंगलमा प्रहरीले लुकाइएको मास्क नियन्त्रणमा लिने क्रममा व्यवसायीहरु ३४ वर्षीय सुरज गोयल र भारतको राजस्थानका २७ वर्षीय सुवास महेश्वरीलाई पक्राउ गरेको छ । सतुंगलमा मास्क लुकाएर राख्नेहरुको सञ्जाल रहेको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बजारमा कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै मास्क र सेनिटाइजरको अभाव बढेको छ भने कालोबजारीका कारण कृत्रिम अभाव सिर्जना गर्नेहरुको बिगबिगि पनि बढेको छ । योसँगै सरकारले आफ्ना सयन्त्रहरुलाई पनि बजार अनुगमनमा सक्रियताका साथ परिचालन गरेको बताएको छ ।

प्रकाशित मिति:March 16, 2020