आज प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र पाण्डे विश्वासको मत लिँदै

  Sampatti News

November 8, 2021

काठमाडौँ-बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

गत कात्तिक ११ गते संविधानको धारा १६८,उपधारा २ बमोजिम गठवन्धन सरकारको मुख्यमन्त्री नियुक्त भएका पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।

संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

विश्वासको मतसम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

प्रदेशसभा सचिवालयका अनुसार आजै सम्पूर्ण प्रक्रिया टुंग्याएर मत विभाजनमा लैजाने गरी तयारी थालिएको छ ।

एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि चारदलीय गठवन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतासमेत रहेका पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनलाई माओवादी केन्द्र,नेपाली काँग्रेस र जसपाको समर्थन रहेको छ ।

१०९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक हुन्छ ।

मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ जना सांसद रहेकाले उनले विश्वासको मत पाउने निश्चित छ ।

उनलाई माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसदले यसअघि नै समर्थन दिइसकेका छन् ।

पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने बताएका थिए ।

सोहीअनुसार कम्तिमा एक सातामा मन्त्रिपरिषद विस्तार गरिने बताइएको छ ।

पाण्डेले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन सत्ता साझेदार माओवादी केन्द्र,कांग्रेस र समाजवादीबाट एक-एक जना समेटेर मन्त्रिपरिषद गठन गरेका थिए ।

प्रकाशित मिति:November 8, 2021