वार्ताको लागि विप्लव समूहसँग निरन्तर सम्पर्कमा छु :पाण्डे

  Sampatti News

March 16, 2020

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले फेरि वार्ता प्रयास थालेको छ । सरकारसँगको समन्वयमा सत्तारुढ नेकपाका नेता सोमप्रसाद पाण्डेले वार्ताको पहल थाल्नुभएको हो ।

नेता पाण्डेले विप्लव समूहलाई मूल धारमा ल्याउन तत्कालीन राजनीतिक वार्ता समिति संयोजकको हैसियतमा आफू सक्रिय भइरहेको बताउनुभएको छ ।

पाण्डेको नेतृत्वमा २०७५ भदौ पहिलो हप्ता सरकारले विभिन्न समूहसँग सम्वाद गर्न बनाएको राजनीतिक वार्ता समितिले विप्लव समूहलाई मूल धारमा ल्याउन प्रयास गरिरहेको हो । तर विप्लव समूहसँग वार्ताको अझै हुन सकिरहेको छैन् ।

शुरुवातमा सुरेश आले मगर, ताराकान्त चौधरी र लीलाकुमारी भण्डारी सदस्य रहेको समिति २०७५ मंसिर पहिलो साता विघटन भएपछि फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । नेता पाण्डेका अनुसार अहिले फेरि विप्लव समूहलाई वार्तामा ल्याउने प्रयास सुरु भएको छ । आफूू विप्लव समूहसँग सम्पर्कमा रहेको र तपाइँहरु वार्तामा नआई सुखै छैन भन्ने गरेको पाण्डे बताउनुहुन्छ ।

पछिल्लो समय पाण्डेले विप्लव समुहका पूर्व पोलिटब्युरो सदस्य अनिल विरहीसँग भेट गरेर वार्ताको प्रस्ताव गरेको स्रोतको भनाई छ । श्रोतका अनुसार विप्लव समूहले विरहीलाई सरकार पक्षबाट जाने प्रस्तावबारे सूचना संकलन गर्ने जिम्मा दिएकोले पाण्डे र विरहीबिच निरनतर संवाद हुने गरेको छ ।

प्रकाशित मिति:March 16, 2020