बर्थ–डे पार्टीमा फाइट हुदा एक जनाको मृत्यु-दुई घाइते

  Sampatti News

November 16, 2021

बर्थ–डे पार्टीमा फाइट हुदा एक जनाको मृत्यु-दुई घाइते

विराटनगर-बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ (जन्मदिन)मा आयोजित पार्टीमा‘ग्याङ फाइट’हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको बर्ड–डे पार्टीमा आइतबार राति दुई पक्षबीचको विवाद बढेर झगडा भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ‘ग्याङ फाइट’मा धनकुटाको पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार घटनामा धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र घरधनी नानु लिम्बू पनि घाइते भएका छन् ।

हत्या गरिएका दाहाल र घाइते थापा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुवै जना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

बूढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छरसात जनाको समूहले दाहाल र थापामाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दाहालको उपचारका लागि लैजाँदै गर्दा राति ९ बजेतिर बाटैमा मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। दाहालको टाउकोमा खुकुरी प्रहार गरिएको चोट थियो।

प्रहरीका अनुसार दाहालमाथि खुकुरी प्रहार हुन थालेपछि थापा र घरधनी लिम्बू छुट्याउन गएका थिए ।

छुट्याउने क्रममा उनीहरुमाथि पनि खुकुरी हानिएको प्रहरीको भनाइ छ ।

थापा र लिम्बूको हातमा खुकुरीले काटेको चोट छ ।

आक्रमणमा संलग्नहरु लागुऔषधका दुर्व्यसनी

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आक्रमणमा संलग्नहरु लागुऔषधका दुर्व्यसनी भएको खुलेको छ।

डीएसपी श्रेष्ठका अनुसार दुई पक्षबीच भएको विवादको कारण खुल्न सकिरहेको छैन ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ ।

घटना अनुसन्धानका क्रममा रहेको भन्दै नियन्त्रणमा लिइएका युवाहरुको नाम प्रहरीले खुलाएको छैन ।

घटनाका बारेमा थप बुझ्ने काम भइरहेको बताउँदै डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान थालिएको जानकारी दिए ।

उनका अनुसार घटनापछि फरार रहेकाहरुको पनि खोजी तीव्र पारिएको छ।

वडाध्यक्ष दिलिप चौधरीले पार्टीमा मदिरा सेवन गरेका युवाहरुबीच विवाद बढेपछि ‘ग्याङ फाइट’ भएको बताए ।

मदिराको नसामा रहेका युवाहरुको झगडाले ज्यानै जाने घटना भएको उनको भनाइ छ ।

बर्थ–डे पार्टीमा फाइट हुदा एक जनाको मृत्यु-दुई घाइते

प्रकाशित मिति:November 16, 2021